September 18, 2021

यसरी बन्दैछ वायु सेवा निगम भ्रष्टाचारको अखडा

नेपाल वायु सेवा निगम लामो समयदेखि भ्रष्टाचारका कारण थला परेको छ ।निगममा सरकारले नियुक्ति गरेका पदाधिकारीहरुनै कमाउ धन्दामा लागेपछि निगमको कन्तबिजोग भएको हो । राजनीतिक दलका नेता तथा निगमका कर्मचारीको तीन पुस्ते कमाउने अखडा बनेको निगम भ्रष्टाचारका कारण शिर उठाउन सकेको छैन । निगममा भ्रष्टाचारका घटना नयाँ भने होइनन् ।

पञ्चायत कालदेखि नै कमाउ धन्दाका रुपमा प्रयोग हुँदै आएको निगम पछिल्लो समय जहाजका क्रु सदस्यका लागि जापानमा गरिएको होटल सम्झौतामा भएको आर्थिक चलखेलले अहिले चर्चा पाएको छ । हुन त निगममा भइरहने यस्ता आर्थिक चलखेल नयाँ घटना भने होइनन् । पछिल्लो समय राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा निगमभित्र भएको भ्रष्टाचार प्रष्ट रुपमा देखिएको छ ।

निगममा सबैभन्दा कनिष्ठ व्यक्तिलाई फ्लाइट अपरेसन विभागको निर्देशकका रुपमा नियुक्ति गरिएको छ  र उसले कसरी विभागमा लुट मच्चाएको छ भन्ने केन्द्रको अनुसन्धानले प्रष्ट पारेको छ । फ्लाइट अपरेशन विभागको निर्देशकका रुपमा नियुक्त भएका दिपुराज जुहार्चनले निगममा लुट मच्चाएको केन्द्रको अनुसन्धानमा देखिएको हो ।

केन्द्रले तयार पारेको प्रतिवेदन अनुसार क्याबिन क्रुलाई बस्नका लागि होटल भाडामा लिँदा जुहार्चनले प्रतिस्पर्धा नै नगरी वार्ताका आधारमा छनोट गरेको तथ्य खुलेको हो । जुहार्चनले सो छनोट गर्दा न्यूनतम कोटेशन समेत माग नगरी ६ करोड ३९ लाख ८२ हजार १ सय ८४ रुपैयाँमा गरेको सम्झौता अवैध भएको केन्द्रले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

कोरोनाकाले विश्व आक्रान्त पारेका बेला अपतकालीन बाहेक अन्य हवाई उडान पूर्ण रुपमा ठप्प थियो  । यस्तो संकटका बेला पनि जहाज उडाएको देखाएर विदेशी पाइलटका नाममा १० करोड रुपैयाँ खर्च गरेको तथ्य फेला पारेको छ । त्यसका साथै एक हप्ताका लागि विदेश तालिममा पठाएर १२ दिन भनेर भत्ता समेत खुवाएको तथ्य खुलेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । केन्द्रले आफ्नो राय सिफारिस सहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइसकेको छ ।

‘‘हामीले अध्ययन प्रतिवेदन अख्तियार पठाइसकेका छौँ,’’ सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले भने । निगममा भएको अवैध कामको थप अध्ययन गर्नुपर्ने देखिएको भन्दै अख्तियार पठाएको उनको भनाई थियो । अध्ययन गरेर अख्तियारलाई प्रतिवेदन बुझाएपछि केन्द्रको काम सकिएको सूचना अधिकारी शर्माले लोकपथसँग बताए ।

त्यस्तै, निगमले यहि असार १८ मा गरेको जनरल सेल्स एजेन्ट ९जिएसए० छनोटमा पनि ठुलो आर्थिक चलखेल भएको देखिएको छ । जिएसए छनोटमा १० करोड रुपैँया बराबरको भ्रष्टाचार भएको स्रोतको दाबी छ ।निगममा भएका साना तिना आर्थिक चलखेलका घटना त सामान्य हुन् । तर ठुला र चर्चित घटनाका कारण निगम खोक्रिँदै गएको छ ।

सरकारका भ्रष्ट मन्त्री तथा कर्मचारीका कारण लाउडा, धमिजा, चेज एयर, चिनियाँ जहाज, न्यारोबडी तथा वाइडबडी जस्ता काण्ड निगममा दोहोरिरहेका छन् ।सरकारका जिम्मेवार पदाधिकारीहरुले नै कसरी निगमलाई हानी पुर्‍याउँछन् भन्ने कुरा २०६५ को निगमको दिल्लीस्थित जग्गा प्रकरणले स्पष्ट पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *